नेपालको दोस्रो जित हात, कुवेत २५ रनले पराजित

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७९ | काठमाडौं

मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतलाई २५ रनले पराजित गरेको हो । १ सय ८ रनको लक्ष्य पाएको कुवेतलाई नेपालले ८२ रनमा समेटेको थियो । 

सो क्रममा नेपालका लागि सीता मगरले दुई तथा अस्मिना कर्माचार्य, संगीता राई र इन्दू वर्माले एक/एक विकेट लिएका थिए । यसअघि कुवेतले टस जितेपछि व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रनको योगफल बनाएको हो । 

कप्तान रुविना क्षेत्रीले अविजित रही ३४ र इन्दू बर्माले २८ रनको योगदान गरेका थिए । त्यसबाहेक ज्योति पाण्डे १५, बिन्दू रावल ११, सीता मगर र काजल श्रेष्ठ ५/५ रनमा आउट भएका थिए । नेपालले हिजो पहिलो खेलमा भुटान माथि ५० रनको जित निकालेको थियो । नेपालले पर्सी सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा परेको टोली हो । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । 


प्रतिक्रिया