फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइन समीकरण पूरा

मंसिर २२, २०७९ | काठमाडौं
फिफा विश्वकप फुटबल २०२२ मा यसपटक पाँच युरोपेली राष्ट्र पोर्चुगल, क्रोएसिया, नेदरल्यान्ड्स, फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगेका छन् । पहिलो पटक क्वाटरफाइनल पुग्दै मोरक्कोले मंगलवार राति इतिहास बनाएको छ । मोरक्को विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो अरब राष्ट्र बनेको हो । उसले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्यो । विश्वकपका ६ संस्करणको अनुभव बटुलेको मोरक्कोले सन् १९७० मा पहिलोपटक समूह चरण पार गरेको थियो । २२ औं संस्करणसम्म आइपुग्दा मोरक्कोले विश्वकपमा खेलेका १६ खेलमा २ जित, ५ बराबरी र ९ हार व्यहोरेको छ ।
प्रि–क्वाटरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोल अन्तरले हराएको छ । त्यस्तै, नकआउट चरणमा क्रोएसियाले एसियाली राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हरायो । नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ पराजित गर्दा फ्रान्सले पोल्याण्डलाई ३–१ ले स्तब्ध बन्यो । नकआउट चरणमा इइल्याण्डले सेनेगललाई ३–० ले पराजित गर्यो भने पाँच पटकको विजेता ब्राजिलले एशियाली राष्ट्र दक्षिण कोरियालाई क्वाटरफाइनलमा ४–१ गोल अन्तरले पराजित गर्दा, दुई पटकको विजेता अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले पन्छायो ।
सन् १९६६ र २००६ को विश्वकपको क्वाटरफाइनल पुगेको पोर्चुगलले तेस्रो पटक क्वाटरफाइनल खेल्दैछ । सन् १९६६ मा पहिलो पटक विश्वकपमा सहभागीता जनाएको पोर्चुगलले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गर्यो । सेमिफाइनलमा सोभियत युनियनसँग २–१ ले पराजित भएपछिका चार संस्करणमा पोर्चुगल विश्वकपमै छनोट हुन सकेन ।
२२ औं संस्करणमा पोर्चुगिज युवा स्टार गोन्कालो रामोस ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । पोर्चुगलले प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकाल्दा रामोसले १७ औं, ५१ औं र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागीता जनाएको क्रोएसिया पहिलो सहभागितामै उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनलसम्म पुगेको थियो । क्रोएसियाले सेमिफाइनलमा नेदरल्यान्ड्ससँग २–१ को हार व्यहोर्यो । सन् २०१० को विश्वकपमा क्वालिफाइड समेत नभएको क्रोएसिया सन् २०१८ को उपविजेता हो ।
सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमै सहभागी युरोपेली राष्ट्र नेदरल्यान्ड्सले सन् १९७४ को विश्वकपको फाइनलमा वेस्ट जर्मनी, सन् १९७८ को विश्वकपको फाइनलमा अर्जेन्टिना र सन् २०१० को फाइनलमा स्पेनसँग पराजित भएको इतिहास छ । यस्तै, पहिलो संस्करणमै सहभागीता जनाएको फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकपको उपाधिमाथि कब्जा जामायो । सन् १९५८ र १९८६ मा सेमिफाइनल खेलेको फ्रान्स सन् २००६ को विश्वकप उपविजेता बन्यो । फ्रान्सले विश्वकपमा अहिलेसम्म खेलेका ६६ खेलमा ३४ जित, १३ बराबरी र १९ हार व्यहोरेको छ ।
सन् १९६६ मा विश्वकप आयोजना गरेको इङ्गल्यान्डले पहिलो सहभागीता मै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो । फाइनलमा वेस्ट जर्मनीलाई ४–२ ले पराजित गरेको थियो ।
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ । ब्राजिलले सन् १९५० र १९९८ मा उपविजेता बन्दै चित्त बुझायो । ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ । २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ । ब्राजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ । ब्राजिललाई हरेक पटक उपाधि जित्ने प्रत्यासी टोलीका रूपमा लिइन्छ ।
अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना सन् १९७८ र १९८६ मा भएको विश्वकपको विजेता हो । सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणको अर्जेन्टिना उपविजेता राष्ट्र हो । अर्जेन्टिना फाइनलमा उरुग्वेसँग ४–२ ले पराजित भएको थियो । सन् १९७० को विश्वकपमा छनोट नै नभएको अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा ८१ खेल खेलेका छन् । जसमा ४७ जित, १० बराबरी र २४ हार ब्यहोरेको छ ।