पीएम कपमा एपीएफ र लुम्बिनी प्रदेश विजयी

पुस ३०, २०७९ | इटहरी

विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

सुनसरीको इटहरीमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको ५२ रनको लक्ष्य एपीएफले ८ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

एपीएफका लागि कप्तान सीता रानामगरले १९, रोमा थापाले १४ र ज्योति पाण्डेले ८ रनको योगदान गरिन् । यसअघि इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ५१ रन बनाएको थियो ।

आजै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४७ रन जोडेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन् । प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा एपीएफ र बागमती प्रदेश तथा दोस्रो खेलमा मधेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया