स्पट फिक्सिङमा १० खेलाडी संलग्न रहेको सीआईबीको निष्कर्ष

माघ १०, २०७९ | काठमाडौं

नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा भएको स्पट फिक्सिङमा ४ नेपाली र ६ जना विदेशीसहित १० जना खेलाडीको संलग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

सीआईबीले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार ६ विदेशीमध्ये ४ जना व्यवस्थापक, १ जना खेलाडी र १ जना बाहिरी व्यक्तिको स्पट फिक्सिङ र लाइभ बेटिङमा संलग्न पाइएको हो ।

स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई प्रहरीले हिजो नै पक्राउ गरिसकेको छ । अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै अन्यको नाम गोप्य राखिएको सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताउनुभयो ।

खेलाडीहरूलाई सामाजिक सञ्जालबाट तथा प्रत्यक्ष भेटेर प्रलोभनमा पारिएको सीआईबीले जनाएको छ । एउटा स्पट फिक्सिङमा, कुनै गेमको कुनै एउटा ओभरमा नो बल फ्याकेको वा निश्चित रन लिएको अवस्थामा ६ देखि १० लाख दिनेगरी अप्रोच आएको अनुसन्धानबाट पुष्टि भएको थापाले जानकारी दिनुभयो । यस्तै, स्पट फिक्सिङमा नेपाल क्रिकेट संघ क्यानको कुनै भूमिका अहिलेसम्म नदेखिएको थापाले बताउनुभयो ।

केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोतसमेत नखुलेको सीआईबीले जनाएको छ । विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसगँ सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको सीआईबीको निष्कर्ष रहेको छ ।


प्रतिक्रिया