राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ५ बाट

माघ ११, २०७९ | तिलोत्तमा

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ५ बाट हुने भएको छ । प्रतियोगिता अगामी फागुन ५ देखि ७ गतेसम्म रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका विभिन्न स्थानमा हुनेछन् । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरस्तरीय व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुने सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागिताका लागि नगरमा रहेको सबै विद्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । ‘नगरमा सामुदयिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विद्यालय छन्’, लम्सालले भन्नुभयो, ‘हामीले सबैलाई अनुरोध गरिसकेका छौं, अधिकांश विद्यालय सहभागी हुने अपेक्षा छ ।’ 

लम्सालका अनुसार प्रतियोगितामा एथलेटिक्स अर्न्तगत छात्रातर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार ५ सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर र छात्रतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुनेछन् । 

त्यस्तै छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (८ पाउन्ड) र छात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (१२ पाउण्ड) खेल हुनेछ । 

यस्तै मार्शल आर्ट अन्तर्गत तेक्वान्दो खेलको छात्रातर्फ अन्डर ४२ केजी, ४४ केजी, ४६ केजी र छात्रतर्फ अन्डर ४५ केजी, ४८ केजी, ५१ केजी तौल समूहका खेलाडी सहभागी हुने सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानहृवी पाण्डेले बताउनुभयो । सो क्रममा कराते खेल प्रदर्शनीको रुपमा समेत खेलाइने छ । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन गर्ने नगर स्तरीय समितिले निर्णय गरेको उहाँले बताउनुभयो । पाण्डेका अनुसार सोही कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, द्धितीय र तीतृय विजेतालाई ट्रफी, मेडल, प्रमाण प्रदान गरिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया