सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भयोः क्यान

माघ १२, २०७९ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले टी–ट्वान्टी लिग क्रिकेट आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ ।

फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ परेको केही दिनपछि आज आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारतीय कम्पनीसँगको सम्झौतमा गल्ती भएको बताउनुभएको हो ।

फिक्सिङमा ६ जना विदेशी नागरिक गरि १० जना संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अहिले छानबिन गरिरहेको छ ।

फिक्सिङ आरोपमा पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहम्मद आदिल अन्सारीलाई सीआईबीले पक्राउ गरिसकेको छ । स्पट र म्याच फिक्सिङमा संलग्न रहेकालाई कानुन अनुसार कारबाही गर्ने अध्यक्ष चन्दले बताउनुभयो ।

यस्तै, क्यानले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढ्ने स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्न सुझाव दिएको चन्दको भनाइ छ ।

बलात्कार आरोपित लामिछानेलाई उच्च अदालत पाटनले केही समयअघि सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीविरुद्ध लागेको मुद्धाको अन्तिम किनारा भने लाग्न बाँकी छ ।  


प्रतिक्रिया