क्यानका कार्यवाहक सचिव मल्लद्वारा पदबाट राजीनामा

माघ १८, २०७९

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिलका अध्यक्ष समेत रहेका मल्लले लिगमा विभिन्न विवादका कारण आलोचनापछि पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले गतवर्ष राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।

क्यानको बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा समेत गरेको छ । नलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने नहुनेबारे स्पष्ट भइसकेको छैन । उनको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म निलम्बन फुकुवा गर्न नहुने दबाब थियो ।

यसैबीच क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी–ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्ष सहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए । केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै हिजोको बोर्ड बैठक छाडेका थिए ।


प्रतिक्रिया