संकटा सेमिफाइनलमा

फाल्गुन ९, २०७९

मनिष डाँगीको निर्णायक गोलसंगै संकटा क्लब झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक क्लब भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकट गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको हो । मनिषले खेल सुरु भएको पाँचौं मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

घरेलु मैदान र दर्शकको राम्रो साथ पाएको आयोजक भद्रपुरले खेल अवधिभर गोल फर्काउने निकै मेहेनत गर्‍यो । संकटाको गोलपोस्टमा दर्जन बढी आक्रमण बुनेपनि बललाई गोलपोस्टको दिशा दिन नसक्दा आयोजक भद्रपुर स्तब्ध बन्यो । मेची रंगशालामा भएको खेलको सुरुवातमै गोल खाएपछि दबाबमा परेको आयोजक भद्रपुर ब्लेजर्सको दुइटा प्रहार संकटाको गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

पूर्व स्टार खेलाडी हरि खड्काको प्रशिक्षणमा मैदान उत्रिएको भद्रपुर कलेक्सन टिम भएपनि खेलमा भने राम्रो तालमेल बनाएको थियो । खेलमा म्यान अफ द म्याच संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । बुधबार लिग विजेता मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ । फागुन १६ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेता टिमले नगद १३ लाख तथा उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।   


प्रतिक्रिया