आर्मी सेमिफाइनलमा

फाल्गुन ११, २०७९

त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भुटानको ड्रुक ल्हायुल फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै आर्मीले गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

बिहीबार भद्रपुरस्थित मेची रंगशालामा भएको खेलमा आर्मीको जितमा जितेन्द्र कार्की र सुशान्त चौधरीले गोल गरे । खेलको तेस्रो मिनेटमै जितेन्द्रले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । जितेन्द्रले डीएरिया नजिकबाट प्रहार गरेको फ्रिकिक बल सुन्दर गोलमा परिणत भएको थियो । पहिलो हाफ एक गोलको अग्रतामै सकिएको थियो । खेलको सुरुवातमै गोल खाएपछि निराश बनेको पाहुना टोली भुटानले आर्मीमाथि दबाब बढाउन सकेन ।

६४ औं मिनेटमा सुशान्त चौधरीले अर्को गोल थप गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । गोलपोस्टको बारमा ठोक्किएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका सुशान्तले जाली चुमाएका थिए । भुटानविरुद्ध आर्मीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । भुटानको डिफेन्स लाइन निकै कमजोर देखिएको थियो । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको आर्मीले भुटानका खेलाडीबाट दबाब महसुस नगरेको देखिन्थ्यो ।

आर्मीले गोल्डकपको फाइनल प्रवेशका लागि शनिबार संकटासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा आर्मीका जितेन्द्र कार्की म्यान अफ द म्याच भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा शुक्रबार अन्तिम क्वाटरफाइनल खेल अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र काउवार्न बजार प्रगति संघ बंगलादेशबीच हुने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । फागुन १६ सम्म चल्ने गोल्डकपको विजेता टिमले नगद १३ लाख तथा उपविजेता टिमले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया