क्यानको साधारणसभा सुर्खेतमा

फाल्गुन १४, २०७९ | सुर्खेत

नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा आजबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । सन् २०२२ मा नै गर्नुपर्ने साधारणसभा १ वर्षपछि गर्न लागिएको हो । पदाधिकारीसहित झण्डै १ सय जनाको सहभागिता रहने साधारणसभाको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको छ । 

आगामी १० औं राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेकाले खेलकुद र यसका पूर्वाधारबारे सन्देश दिन पनि सुर्खेतमा साधारणसभा आयोजना गरिएको क्यानले जनाएको छ । २२ डिसेम्बरभित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि विशेष कारणवशः ढिला भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । 

दुई दिनसम्म सञ्चालन हुने साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ जना प्रदेश प्रतिनिधि, १७ जना केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, एम्पायर र कोच गरी ८७ जना सहभागी हुनेछन् । संघको यो कार्यकाल असोजमा सकिने भए पनि त्यसभन्दा अगाडि निर्वाचन गर्ने योजनामाथि साधारण सभामा छलफल हुने बताईएको छ । क्यानले यसपालिको साधारणसभामा विधान संशोधनका विषयमा पनि छलफल गर्ने जनाएको छ । 


प्रतिक्रिया