नवौं केएनपी राष्ट्रिय महिला भलिबल न्यू डायमण्डको विजयी सुरुवात
पुस २३, २०८२ | काठमाडौं
टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले नवौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको उद्घाटन खेलमा न्यु डायमण्डले विभागीय त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
पहिलो सेट २५–१६ ले जितेको न्यु डायमण्डले दोस्रो २५–१५ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो । प्रतियोगितामा ३ विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबको सहभागिता छ ।
आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा हरेक दिन २ खेल हुनेछन् । दिनको दोस्रो खेलमा अहिले पुलिस र एपिएफबीच प्रतिस्पर्धा भैरहेको छ ।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारमा दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ , दोस्रोले २ लाख ५० हजार , तेस्रो टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ सँगै अन्य आकर्षक पुरस्कार जित्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले जनाएको छ ।











