जीतपुर–सिमरा गोल्डकप चैत ९ गतेदेखि

फाल्गुन २९, २०७९ | बारा

जीतपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १३ औं संस्करण चैत्र ९ बाट आयोजना हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लब सिमराले सोमबार पत्रकार सम्मेलन गरी चैत्र ९ देखि १८ गते सम्म हुने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भइसकेको जानकारी दिएको हो । 

जगदम्बा स्टिलको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सिमरा रंगशालामा फ्लड लाइटमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र मोफसलका ५ गरी १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताउनुभयो ।

प्रतियोगितामा साविक विजेता न्यूरोड टीम एनआरटी, सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड सहभागी हुनेछ । 

यसैगरी सातदोबाटो युथ क्लब, बीएफसी चितवन, मकवानपुर–११ हेटौंडा, बाग्मती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नव जन जागृती युवा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । अघिल्लो संस्करणबाट मुख्य प्रायोजकका रुपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि पनि सम्झौता नवीकरण गरेको हो । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्णदत्त भट्ट र आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

प्रतियोगिताको व्यवस्थापनमा जीतपुर–सिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सिमराको मुख्य सहयोगमा रंगशालामा ˆलड लाइटको क्षमतालाई यस वर्ष बृद्धि गरिएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्ने छन् ।


प्रतिक्रिया