इटहरी गोल्डकपको उद्घाटन खेलमा सगरमाथा विजयी

चैत्र ४, २०७९ | सुनसरी

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १३ औ संस्करणको उद्घाटन खेलमा साविक विजेता मोरङको सगरमाथा फुटबल क्लब विजयी भएको छ । 

सुनसरीको इटहरी रंगशालामा आज भएको उद्घाटन खेलमा क्यामरुनका एभिनियर फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा एभिनियरका साबा अलीको प्रहार क्रसबारमा लागेर बाहिरियो । जोय अल्डोको प्रहार सगरमाथाका गोलकिपर च्यांग थेबेले रोकेका थिए । यानिक ओवना जीओन गिनी र सांघुको प्रहार गोलमा परिणत भयो । 

सगरमाथाका राजिब लोप्चा, मेसुके, अभिषेक राई, अभिषेक लिम्बुले गोल गरे । आजको खेलमा सगरमाथाका मेसुके म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक राष्ट्रिय जागृती क्लब र काठमाडौंको चर्च ब्वाईज क्लबबीच खेल हुनेछ । 

जम्मा ८ टिम सहभागी गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ । 

प्रतियोगितामा विभागीय टीम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाईज, मच्छिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेण्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागीता रहने छ । 


प्रतिक्रिया