सातौं विराट गोल्डकपको तयारी पूरा, विजेतालाई २० लाख १५

चैत्र ६, २०७९ | विराटनगर

विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको तयारी पूरा भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत ९ देखि शहिद मैदानमा सुरु हुने रात्रीकालीन सातौ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । 

चैत १७ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशी सहित ८ टिमको सहभागीता रहने र प्रतियोगिता सञ्चालनका लागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका संयोजक सुवाशीष कोइरालाका अनुसार विजेता टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको छैटौं सस्करण विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएका थिए । 

प्रतियोगितामा प्रदेश सरकार, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद र निजी क्षेत्रको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ । प्रतियोगितामा तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी सहित संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी तथा विदेशी टिममा भारत केरलाको लुका सकर क्लब र भुटानको डुक लयुल फुटबल क्लबको सहभागीता रहने कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार भारतको दिल्ली एफसी क्लबले अन्तिम समयमा नआउने जनाएपछि भुटानलाई सहभागी गराइएको हो । २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको यो प्रतियोगिता विराट गोल्डकपका नाममा आयोजना हुनलागेको सातौं हो । कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने प्रतियोगिताको उद्घाटन खेल घरेलु टिम विराटनगर सिटी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया