खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउँछ : पूर्व प्रधानमन्त्री ओली

चैत्र २३, २०७९

पूर्व प्रधानमन्त्री केपी शर्माओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन असल राजनीतिक संस्कार समेत सिकाउने बताउनुभएको छ । लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोटर्स एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले विपक्षीसाग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहत रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गर्नुभयो । उहाँले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउँदै अब सम्वृद्धिका लागि पनि खेल आवश्यक रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताउनुभयो । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोटर्स एकेडेमीबाट भएको बताउदै यसलाई अझ बिस्तार गर्न सुझाब दिनुभयो । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको बताउदै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधै प्राथमिकता दिएको बताउनुभयो । मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताउनुभयो । मुलुकका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउँदै उहाँले आउँदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा बिस्तार गरी काम थाल्ने बताउनुभयो ।  


प्रतिक्रिया