ए डिभिजन लिगमा आज थ्री स्टार र संकटा भिड्ने

जेष्ठ १७, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्री स्टार क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको च्यासलस्थित मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । समान २६/२६ अंक जोडेका दुवै टोली आज यस सिजनको सातौं जितको खोजीमा हुनेछन् । थ्री स्टार ११ औं स्थानमा छ भने, संकटा १२ औं स्थानमा छ । यी दुई टीमलाई रेलिगेशनमा रहेका फ्रेन्ड्स क्लब र खुमलटार फुटबल क्लबले पछ्याई रहेका छन् । समान २४/२४ अंक जोडेका फ्रेन्ड्स १३ औं र खुमलटार पुछारमा छ ।

यता, सातदोबाटोस्थित एक्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको मच्छिन्द्र आज १० औं जितको खोजीमा हुनेछ । उसको ३६ अंक छ । यता, यस सिजनको नवौं जित निकाल्ने योजनामा रहेको सातदोबाटो अंक तालिकाको छैटौं स्थानमा छ । उसको २९ अंक छ । 


प्रतिक्रिया