विराट गोल्डकपमा आयोजकलाई ८७ लाख घाटा

जेष्ठ १९, २०८०

गत चैतमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणमा ८७ लाख रुपैयाँ घाटा भएको आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । सो घाटा बराबरको रकम आयोजक समितिका संयोजक र सह–संयोजकले व्यक्तिगत रुपमा ब्यहोर्ने जानकारी दिएको छ । विराट गोल्डकप ट्रष्टले सञ्चालन गरेको प्रतियोगितको संयोजकमा मोरङको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र सह–संयोजकमा स्पोटर्स इन्ट्रोपेनर सुभाशिष कोइराला थिए । प्रतियोगितामा कुल आम्दानी एक करोड ३३ हजार रुपैयाँ हुँदा एक करोड ८७ लाख ३४ हजार रुपैयाँ खर्च भएको थियो ।

आयोजकलाई ८७ लाख रुपैयाँ घाटा भएको प्रतियोगिताका सह–संयोजक कोइरालाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि महानगरपालिकाबाट १२ लाख, कोशी प्रदेशको समाजिक विकास मन्त्रालयबाट १२ लाख, राखेपबाट १२ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार मुख्य प्रायोजकबाट ८ लाख, प्रायोजकबाट ४ लाख, सह–प्रायोजकबाट ४ लाख, पार्टनर प्रायोजकबाट ६ लाख ७५ हजार र टिकट बिक्रीबाट ४१ लाख ५८ हजार एकसय रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगिताको विजेता विराट फुटवल सिटीले २० लाख १५ हजार र उपविजेता भरतको लुका सकर फुटबल क्लबले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए । 


प्रतिक्रिया