पोखरा म्याराथनमा १३ राष्ट्रका ५० विदेशी धावक

फाल्गुन ४, २०८० | पोखरा

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ५ मा हुने १८ औं ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’मा १३ राष्ट्रका ५० विदेशी धावक सहभागी हुने भएका छन् । 

म्याराथनका विभिन्न विधामा कुल ६३ विदेशी धावक सहभागी हुने भएका हुन् । शनिबार हुने ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ जना धावकले प्रतिस्पर्धा गर्दैछन् । 

म्याराथनका लागि सम्पूर्ण तयारी पूरा भएको र सहभागी धावकका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । २१ किलोमिटर महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १ सय २९ र महिलातर्फ २९, छात्र ५ किमीमा ५ सय ९० र छात्रातर्फ ४ सय ८० धावकले प्रतिस्पर्धा गर्दै छन् । 

विदेशी धावक म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुतर्फ ११ र महिलातर्फ ३ जनाले सहभागी हुँदैछन् । प्रतियोगितामा नेपाल सहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावकको सहभागिता रहनेछ ।

म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ पाउने छन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पाउने छन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले धावकको सुरुक्षालाई मध्यनजर गर्दै यसपल्ट रुट परिवर्तन गरेको बताउनुभयो । 

यसअघिका संस्करणमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमी र बाँकीको दौड फेवातालको सिरानतर्फ पुग्ने छ । 

पोखरा रंगशालाबाट सुरु हुने म्याराथन अमरसिंहचोक, मियापाटन, फुलबारी, बगर, सिमपानी, जिरोकिलोमिटर, लेकसाइड, हल्लनचोक, पामे हुँदै घाटीछिना पुगेर पुनः फेवा किनार हल्लनचोकको क्यापिङ चौरमा फर्किएर समापन हुनेछ । 

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यसअघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ ।

बिहीबार पोखरेली मञ्च युकेले गैर आवासीय नेपाली संघ, तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको छ । संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गर्नुभयो । 


प्रतिक्रिया