झापा गोल्डकपको छैटौं संस्करण आज सुरु हुँदै, उद्घाटन खेलमा संकटा र एपीएफ भिड्ने

फाल्गुन १९, २०८० | बिर्तामोड

झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आज सुरु हुँदैछ । झापा गोल्डकप समितिले आयोजना गर्न लागेको प्रतियोगिताका खेलहरु बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको संकटा फुटबल क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।

गोल्डकपमा आयोजक झापा–११ सहित नेपालका ७ र ३ विदेशी गरी १० टिमको सहभागिता रहने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । 

यस वर्ष गोल्डकपको विजेताले १३ लाख रुपैयाँ तथा उपविजेता ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसवर्ष विजेता र उपविजेता दुवैको पुरस्कारमा ५०/५० हजार रुपैयाँले वृद्धि गरिएको हो ।

गोल्डकपमा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ । गोल्डकपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने उहाँको भनाइ छ । २०७२ देखि सुरु भएको झापा गोल्डकप कोभिडकालमा दुई वर्ष तथा गत वर्ष आयोजना हुन सकेन । 

छैटौं संस्करणको उद्घाटन समारोहमा जिल्लाका एक जना पुराना फुटबल खेलाडी तथा रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई २५/२५ हजार रुपैयाँसहित सम्मान गरिने बस्नेतले जानकारी दिनुभयो । 

गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । 


प्रतिक्रिया