पाँचथर गोल्डकपको उपाधिका लागि आर्मी र आयोजक पाँचथर भिड्दै

फाल्गुन १९, २०८० | पाँचथर

पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको चौंथोे संस्करणको फाइनल खेल आज शनिबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि आयोजक पाँचथर क्लब र विभागीय त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । 

फिदिम माविको मैदानमा हुने उपाधि भिडन्त दिउँसो २ बजेपछि सुरु हुनेछ । आयोजक पाँचथरले सेमिफाइनलमा सलार्हीको बाग्मती फुटबल क्लबलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । 

त्रिभुवन आर्मीले झापा फुटबल क्लब हराँउदै फाइनलमा स्थान बनाएको थियो । फाइनलको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी र आयोजक पाँचथर क्लबका कप्तान र प्रशिक्षकहरुले रणनीतिक तरिकाले खेल्दै उपाधि जित्ने दाबी गरे । 

पाँचथर क्लबका कप्तान रोशन आङदेम्बेले घरेलु मैदानमा त्रिभुवन आर्मी जस्तो मजबुद क्लबसँग स्पर्धा गर्न पाउनु अवसर भएको टिप्पणी गरे । आर्मीले शक्ति प्रदर्शन सहित खेल खेल्ने भएपनि खेलाडीहरुमा धेरै त्रुटि भेट्टिएकोले विपक्षी टिमको कमजोरी पत्ता लगाउँदै उपाधि जित्ने उनले बताए । 

त्रिभुवन आर्मीका प्रशिक्षक आदर्श मल्लले आयोजक टिमलाई मजबुद प्रतिस्पर्धी भएको बताए । यही फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पाँचथर गोल्डकप जिल्लाको सर्वाधिक राशीको प्रतियोगिता हो ।


प्रतिक्रिया