चर्च ब्वाइजको कठिन जित

फाल्गुन २२, २०८०

चर्च ब्वाइज युनाइटेड छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताकोे खेलमा विजयी भएको छ । उसले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलले पराजित गर्दै गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजको जितमा विदेशी खेलाडी अबायोमी फोकुन्लेले निर्णायक गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा डीबक्सभित्रबाट सजित राईले मिलाएको पासमा फोकुन्लेले सेकेन्ड पोल च्याप्दै गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन । र, चर्च ब्वाइजले गोल्डकपको अन्तिम चार सुरक्षित गरेको हो ।

खेलमा दुबै टिमले सम्झन लायक खेल पस्कन सकेनन् । करिब आधा घण्टासम्म खेलमा दुबै टिमले एकअर्का विरुद्ध कुनै अवसर समेत सिर्जना गर्न सकेका थिएनन् । १० औं मिनेटमा चर्च ब्वाइजका फोकुन्लेले बक्सभित्र पाएको बल आधा मिनेटसम्म गोलपोस्टमा प्रहार गर्ने मौकाको खोजी गरेपनि एनआरटीका डिफेण्डरहरुले त्यो अवसर दिएनन् । २९ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईले पहिलो पटक गोलपोस्टमा चार्ज गरेका थिए । तर, सशक्त बन्न नसकेको उनको त्यो प्रहार एनआरटीका कप्तान समेत रहेका गोलकिपर पुजन होनाले सहजरुपमा नियन्त्रणमा लिए ।

४८ औं मिनेटमा फ्रिकिक बललाई एनआरटीका सीबेले हेडमार्फत पोस्टको दिशा दिन चाहेपनि बल सिधैं चर्च ब्वाइजका गोलकिपर दीप कार्कीको हातमा पुगेको थियो । ६१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुग्यो । एनआरटीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई फोकुन्लेले एक्लै अघि बढाएर पेनाल्टी एरियासम्म लगेपनि गोलपोस्टमा प्रहार गर्नबाट चुकेका थिए । ७४ औं मिनेटमा चर्च ब्वाइजका सुरज जिउ ठकुरीले सिधैं गोलपोस्टमा प्रहार गर्नुपर्ने बल साथीलाई पास मिलाउन खोज्दा अवसर खेर गयो ।

७६ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले पेनाल्टी एरियाबाट बल प्रहार गर्न भ्याएनन् । चर्च ब्वाइजका डिफेन्डरहरुले घेरा हालेपछि खेलमा फर्किने एनआरटीको त्यो अन्तिम अवसर गुमेको थियो । ८५ औं मिनेटमा चर्च ब्वाइजका बिजु भुजेलले वान भर्सेस वानको अवस्थामा अगाडि बढाएको बल एनआरटीका गोलकिपर पुजन बिट भइसकेको अवस्थामा पोस्ट नजिकैबाट बाहिरियो ।

चर्च ब्वाइजका प्रशिक्षक रुबिन राईले खेल जितेपनि नतिजा सोचेजस्तो नआएको बताए । उनले झापा आएका टिमका चार जना खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पका लागि सोमबार काठमाण्डौं फर्किएकाले आजको खेल उत्कृष्ट पस्किन नसकेको बताए । आजको खेलमा चर्च ब्वाईज युनाइटेडका सजित राई प्लेयर अफ दी म्याच भए । उनले नगद ११ हजार रुपैया“ प्राप्त गरे । गोल्डकपमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया