विराट गोल्डकप फुटबलको आठौं संस्करणको आज सुरु हुँदै

चैत्र १५, २०८० | विराटनगर

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको बिहीबारदेखि मोरङमा सुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले भुटानको रोयल थिम्पु एफसीको सामना गर्दैछ । 

रात्रिकालीन समयमा हुने खेल साँझ ६ बजेपछि सुरु हुनेछ । पुलिस क्लब यस प्रतियोगिताको तीन पटकको विजेता टोली हो भने थिम्पु क्लब २०३१ सालमा महेन्द्र गोल्डकपको विजेता टोली हो ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६८ सालदेखि विराट गोल्डकपमा रुपान्तरण भएको हो । चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विदेशी सहित १० टिमको सहभागिता रहने छ । 

दश टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेका छन् । 

समूह ‘बी’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभुवन आर्मी, न्यूरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको सातौं सस्करणको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार पुरस्कार पाएका थिए । आर्थिक अभावका कारण पुरस्कार राशीमा कटौती गरिएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । 

प्रतियोगिता यसपाली ट्रष्ट आफैले आयोजना गरेको हो । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया