तिलोत्तमामा अन्तर वडा भलिबल प्रतियोगिता सुरु

चैत्र १५, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार वडा नम्बर ६, १६, ११, ४, २, ८ र ७ ले विजयी सुरुवात गरेका छन् । 

उद्घाटन खेलमा वडा नम्बर–६ ले वडा नम्बर १३ लाई २–० को सेटमा पराजित गर्‍यो । यस्तै, वडा नम्बर–१६ ले १२ लाई २–०, वडा नम्बर–११ ले १५ लाई २–०, वडा नम्बर ४ ले ९ लाई

२–०, वडा नम्बर २ ले १ लाई २–०, वडा नम्बर ८ ले ६ लाई २–०, वडा नम्बर ७ ले १६ लाई २–१ को सेटले पराजित गरेको नगर खेलकुद विकास संयोजक लोक पुनले बताए । 

यस्तै, प्रतियोगिता अन्तर्गत भोलि बिहीबार हुने खेलमा वडा नम्बर ११ र २ तथा ४–१० बीच प्रतिस्पर्धा हुनेछ । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले बुधबार एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । 

सो अवसरमा नगरप्रमुख खाँणले खेलकुदको विकासका लागि पनि नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले भलिबल लगायत सबै प्रकारको खेलाडीलाई हौसला प्रदान र आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । 

उपप्रमुख चौधरीले पनि नगरपालिकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबैसग हातेमाले गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १९ मध्य १३ वटा वडाले मात्रै सहभागिता जनाएका छन् । 

पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले पनि ४ वटा वडाले आवश्यक तयारी गर्न नसक्दा सहभागी हुन नसकेको भन्दै आगामी वर्ष सबै वडाबाट सहभागिता रहने नगर खेलकुद विकास संयोजक लोक पुनले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार र तृतीयले १५ हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन् ।


प्रतिक्रिया