आर्मीलाई हराउँदै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

चैत्र १७, २०८० | विराटनगर

न्यूरोड टिम (एनआरटी) आठौैं विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबार साँझ भएको खेलमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–० गोलको जित निकाल्दै अन्तिम आठमा पुगेको हो । 

आर्मी सुनसरीमा जारी १४ औं संस्करणको इटहरी गोल्डकपको फाइनलिष्ट टिम हो । उसले शनिबार चर्च ब्वाईजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा अर्को विभागीय टोली नेपाल पुलिस बिहीबार रोयल थिम्पु एफसी भुटानसँग ३–० गोलले स्तब्ध भएको थियो ।

एनआरटीले सेमिफाइन प्रवेशका लागि आइतबार भारतको सिक्किम ड्रेगानको सामना गर्ने छ । शुक्रबारको खेलमा एनआरटीका लागि विदेशी नागरिक रिचार्ड र आफिज ओलावा नायक सिद्ध भए । 

आर्मीका प्रशिक्षक मेघराज केसीले अवसर सदुपयोग गर्न नसक्दा र नियमित खेल भइरहेकाले खेलाडीलाई मैदानमा नउर्तादा पहिलो खेलमै हारको सामना गर्नुपरेको प्रतिक्रिया दिए ।

खेलको २६ औं मिनेटमा रिचार्डले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । उनले आफिजले डिबक्समा उपलब्ध गराएको क्रसलाई सदुपयोग गरे । खेलको ७५ औं मिनेटमा आफिजले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । 

उनले प्लेरअफ द म्याच घोषित हुँदै ११ हजार रुपैयाँ प्राप्त गरे । शुक्रबार एनआरटीको जितमा उसका गोलकिपर प्रमिजय गच्छेदार नायक देखिए । गच्छदारले आधा दर्जन बढी आर्मीको पोष्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम आठको यात्रा गराए ।


प्रतिक्रिया