मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा

चैत्र २३, २०८० | विराटनगर

मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । विराटनगरको शहिद मैदानमा गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाहुना टोली भारतको सिक्किम ड्रागन विरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकाल्दै उपाधि यात्रा तय गरेको हो । 

मच्छिन्द्रले अब उपाधिका लागि शनिबार मोरङको सांग्रिला फुटबल क्लबको सामना गर्नेछ । सांग्रिलाले बुधबार विभागीय टोली एपीएफलाई सडनडेथमा ४–३ गोलले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 

मच्छिन्द्रका लागि बिहीबार खेलको ९४ औं मिनेटमा आयुष घलानले गरेको गोल नै निर्णायक बन्यो । घलानले डिबक्समा मनिष डाँगीले उपलब्ध गराएको पासलाई गोलमा परिणत गरेका थिए । 

आयुष प्लेयर अफ द म्याच हुँदै ११ हजार रुपैयाँ पाए । सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले फिनिसिङ पक्ष कमजोर हुनु नै घर फर्कनुको कारण भएको प्रतिक्रिया दिए । उनले इन्जुरी समयको अन्तिम क्षणमा खेलाडी सम्हालिन नसक्दा र बाँया साइड कमजोर हुँदा गोल खानु परेको बताए । 

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएपनि खेलको अन्तिम क्षणमा जित सम्भव भएको प्रतिक्रिया दिए । 

'पटक पटकका राम्रा अवसरमा फिनिसिङ राम्रो नहुँदा टिमले ९० मिनेट भित्रै परिणाम निकाल्न सकेन’, उनले भने, ‘इन्जुरी समयको अन्तिम क्षणमा फिनिसिङ उत्कृष्ट रहृयो ।’ 


प्रतिक्रिया