मच्छिन्द्र एफसी जीतपुर-सिमरा गोल्डकपको सेमिफाइनलमा

चैत्र २८, २०८०

मच्छिन्द्र फुटबल क्लब जीतपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बाराको सिमरा रंगशालामा मंगलबार साँझ सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । 

मच्छिन्द्रको जितमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले निर्णायक गोल गरे । खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । 

आर्मीका डिफेण्डर विमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्स भित्र लडाएपछि रेफ्रीले मच्छिन्द्रलाई पेनाल्टीको मौका दिएका थिए । तर, मच्छिन्द्रका देवेन्द्र तामाङले प्रहार गरेको बल पोष्टबाट बारिह गयो । 

खेलको अन्तिम समयमा पाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिमसम्म संघर्ष गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले आकर्षक अवसर सिर्जना गरेपनि पहिलो गोलका लागि ६९ मिनेटसम्म कुर्नु परेको थियो । 

खेलको म्यान अफ दी म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भएका थिए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आज बुधबार आयोजक नवजन जागृति युवा क्लब सिमराले विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ ।


प्रतिक्रिया