नेपालको लगातार दोस्रो जित, अलराउण्डर दिपेन्द्रको कीर्तिमान

वैशाख १, २०८१ | काठमाडौं

ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा कतारलाई ३२ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन जोड्यो ।

अलराउण्डर दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । २११ रनकोे लक्ष्य पछ्याएको कतार ९ विकेटको क्षतिमा १ सय ७८ रनमा समेटिएसँगै नेपालले दोस्रो जित निकालेको हो ।

कतारका लागि कप्तान मोहम्मद ताविरले ६३ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । नेपालका लागि ललित राजवंशी, दिपेन्द्रसिंह ऐरी र गुलशन झाले समान २÷२ विकेट लिए ।

कुशल मल्ल र अभिनाश बोहोराको नाममा १÷१ विकेट रह्यो । त्यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै दिपेन्द्र सिंह ऐरीको ६४ रनको अर्धशतकिय इन्ङ्सिमा २ सय १० रनको योगफल तयार पारेको हो । नेपालका लागि २१ बलको सामना गरेका दिपेन्द्रले नट आउट रहँदै सर्वाधिक ६४ रन बनाए । उनले अन्तिम ओभरका सबै बलमा छक्का प्रहार गरे । यो सँगै दिपेन्द्र टि ट्वान्टी क्रिकेटतर्फ एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी बनेका छन् ।

यसअघि भारतीय खेलाडी युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा लगातार ६ छक्का प्राहार गरेर विश्व कीर्तिमान बनाएका थिए । आजको खेलमा नेपालका लागि ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५ तथा कप्तान रोहितकुमार पौडेलले १८ र अर्का ओपनर कुशल भुर्तेलले जम्मा १८ रन मात्र बनाउन सके ।

नेपालले यसअघि हिजो भएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित हङकङ, मलेसिया, कतार, यूएयी, साउदी अरेबीया, कुवेत, बहराइन, ओमान र कम्बोडीया छन् । प्रतियोगिताको विजेता टोली एसिया कप क्रिकेटका लागि छनोट हुनेछ ।


प्रतिक्रिया