जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई

वैशाख ४, २०८१ | बारा

जीतपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । 

बाराको सिमरा रंगशालामा गएराति सम्पन्न फाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । 

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा पनि दुबै टिमले गोल गर्न नसकेपछि निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा पुलिसको तर्फबाट रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे । 

मच्छिन्द्रको तर्फबाट विशाल राई, दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरे । मच्छिन्द्रका शौरभ लिम्बु र चन्दन दासले प्रहार गरेको बल पुलिसका गोलरक्षक अमित तामाचाले रोकेका थिए । 

यो जितसँगै पुलिस क्लबले १० लाख रुपैयाँ र ट्रफी हात प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो । पुलिसका गोलरक्षक अमित तामाचा खेलको म्यान अफ दी म्याच घोषित भए । 

पुलिसकै सञ्जीव श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । मच्छिन्द्रका विमल घर्ती मगर प्लेयर अफ द टुर्नामेन्ट भए । उनले स्कूटर पुरस्कार प्राप्त गरे । 


प्रतिक्रिया