क्रिकेटलाई प्राथमिकतामा राख्दै खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन

जेष्ठ १५, २०८१ | काठमाडौं

आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारले खेलकुद क्षेत्रमा बजेट बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदमा पेश गर्नुभएको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो ।

यो चालु आर्थिक वर्ष २०८०÷८१ को तुलनामा ६२ करोड ४१ लाखले बढी हो ।

गत वर्ष सरकारले खेलकुद क्षेत्रमा २ अर्ब ८७ करोड ५९ लाख रुपैंया बजेट विनियोजन गरेको थियो । सरकारले खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड रुपैंया बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गरिनुका साथै, ओलम्पिक र एसियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय टिम तयार पारिने अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

आधुनिक प्रबिधिसँग जोडिएको ई–स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुका साथै, खेल क्षेत्रमा महिला सहभागीता बढाउँदै खेलकुदका आधारभूत तालिम विस्तार गरिने बताइएको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न ६० करोड बजेट विनियोजन गरिएको छ ।

काठमाडौंस्थित मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिने भएको छ । साथै, चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माणकार्य अघि बढाइने छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तर उन्नती र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तिब्रताका साथ अघि बढाइने भएको छ ।

यस्तै, शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालयमा खेलकुद प्रर्बधन गरिनुका साथै, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता संचालन गरि प्रतिभावान बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरिनेछ । 


प्रतिक्रिया