इण्डिया टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

असार ११, २०८१ | काठमाडौं

अस्ट्रेलियालाई पराजित गर्दै इण्डिया आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेन्ट लुसियाको ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको खेलमा इण्डियाले अस्ट्रेलियाले २४ रनले हराएको हो । 

इण्डियाले ‘सुपर एट’को समूह–१ को विजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो । जितका लागि २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । 

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ७६ रनको अर्धशतकीय इनिङस् खेले । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याक्सवेलले २० र टिम डेभिडले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

इण्डियाका लागि अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । जसप्रित बुमराह र अक्षर पटेलको नाममा एक/एक विकेट रह्यो ।

त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्मा आएको इण्डियाले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल तयार पारेको थियो । इण्डियाका लागि कप्तान रोहित शर्माले विस्फोटक ब्याटिङ् गरे । शर्माले ४१ बलमा ७ चौका र ८ छक्का सहित ९२ रनको योगदान गरे । 

विराट कोहली रननै नबनाई आउट भए । सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्ड्याले २७ र ऋषभ पन्तले १५ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कोस स्टोइनसले समान २/२ विकेट लिए । जोश हेजलवुडले १ विकेट हात पारे ।

यो नतिजासँगै ‘सुपर एट’को समूह एकको शीर्ष स्थानमा रहेको इण्डियाको ६ अंक भएको छ । दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको दुई अंक छ । हारले अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । 

आजको खेलमा अफगानिस्तानले बंगलादेशलाई पराजित गरे अस्ट्रेलियाको चुनौती समाप्त हुनेछ । बंगलादेश झिनो अन्तरले विजयी भएमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । 


प्रतिक्रिया