एन्फा महिला लिगको नवौं चरणको खेल आजदेखि

आश्विन १०, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबलको नवौं चरणको खेल आजदेखि सुरु हुँदैछ । लिगको नवौं तथा अन्तिम चरण अन्तर्गत आज दुई खेल हुनेछन् । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले र स्याङ्जाको वालिङ नगरपालिकाको सामना गर्दैछ । चन्द्रपुर र वालिङबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । 

यस्तै, आजै हुने दोस्रो खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । एन्फा कम्प्लेक्सको मैदानमा हुने यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो साढे ३ बजे सुरु हुनेछ । आजको खेलबाट महिला लिगको शीर्ष ५ मा पर्ने बाँकी दुई टोलीको निर्धारण हुनेछ । 

लिग तालिकामा विभागीय टोली एपीएफ क्लब २२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १९ अंक रहेको छ । 

हिजो भएको आठौं चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब ८ खेलबाट १८ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो ।

महिला लिगमा विभागीय टिमको वर्चश्व देखिन्छ । एपीएफ, आर्मी र नेपाल पुलिस क्लब शीर्ष पाँचमा रहने निश्चित भइसकेको छ । शीर्ष पाँच टिम राउन्ड रोबिनका आधारमा हुने लिगको दोस्रो खुड्किलोमा प्रवेश गर्नेछन् । 

अन्य टिममध्ये वालिङ नगरपालिकाको १२, कोशी प्रदेशको ११, बाग्मती युथ क्लबको १०, संकटा क्लबको ८ र चन्द्रपुर नगरपालिकाको ८ अंक रहेको छ । 

कर्णाली र सूदूरपश्चिम प्रदेश भने अन्तिम दुई स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिइसकेका छन् । कर्णालीको ८ खेलबाट चार अंक मात्र छ भने सुदूरपश्चिम अंकविहीन छ । 


प्रतिक्रिया