रियल म्याड्रिडसँग एलाभेस स्तब्ध

आश्विन ९, २०८१ | काठमाडौं

रियल म्याड्रिडले स्पेनीस ला लिगा फुटबलमा डेपोर्टिभो एलाभेसलाई पराजित गरेको छ । रियल म्याड्रिडले घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा गएराति भएको खेलमा पाहुना टोली एलाभेसलाई ३–२ गोलले हराएको हो । 

रियलले सुरुमा तीन गोलको अग्रता लिएपछि एलाभेसले अन्त्यतिर दुई गोल फर्काएको थियो । रियलले लुकास भाजक्वेजको गोल मार्फत खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । 

खेलको ४० औं मिनेटमा केयलिन एम्बापेले अर्को गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । रोड्रिगोले खेलको ४८ औं मिनेटमा गोल गर्दै रियललाई ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा एलाभेसका लागि कार्लोस बेनाभिडेज र किका गार्सियाले एक/एक फर्काए पनि जितका लागि पर्याप्त भएन । यो नतिजासँगै रियल सात खेलबाट १७ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । 

शीर्ष स्थानको बार्सिलोनाको १८ अंक छ । ला लिगाका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ गोलले हराएको छ भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेलेका थिए । 


प्रतिक्रिया