गृष्मकालीन ओलम्पिकको ३३ औँ संस्करण पेरिस आजबाट सुरु

श्रावण ११, २०८१ | काठमाडौं

गृष्मकालीन ओलम्पिकको ३३ औँ संस्करण फ्रान्सको पेरिसमा औपचारिक रुपमा आज सुरु हुँदैछ ।

ओलम्पिकको उद्घाटन आज हुने भएपनि फुटबल र रग्बीका खेल भने गत बुधबारबाट सुरु भएका थिए ।

फ्रान्सको पेरिसमा १ सय बर्षपछि हुन लागेको ओलम्पिकको उद्घाटनको भव्य तयारी गरिएको छ ।

फ्रान्समा यसअघि सन् १९२४ मा आठौं संस्करणको ओलम्पिक आयोजना भएको थियो । 

विभिन्न मुलुकका १० हजार ५ सय खेलाडीले ३२ खेलको ३ सय २९ इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।

ओलम्पिकमा यसपटक ब्रेक डान्सिङले डेब्यू गर्दैछ ।

‘गेम्स वाइड ओपन’ स्लोगन हुन लागेको ओलम्पिकको उद्घाटन नै इतिहासमा पहिलो पटक स्टेडियमबाहिर हुँदैछ । 

फ्रान्सको प्रख्यात ‘सेन नदी’ लाई केन्द्रविन्दुमा राखेर ओलम्पिकको उद्घाटन गरिने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

खेलाडीले मार्चपास भने सेन नदीमा डुंगा चढेर गर्नेछन् ।

यसैबीच, उद्घाटन समारोहमा नेपालको तर्फबाट टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रुपमा राष्ट्रिय झन्डा बोक्ने छन् ।

नेपालबाट ६ खेलमा ७ खेलाडी ओलम्पिकमा सहभागी हुँदैछन् ।

स्यान्टु र मनिता बाहेक एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपालले नेपालको चुनौती पेश गर्नेछन् ।

नेपालबाट टेबलटेनिस र ब्याडमिन्टनको पहिलो ओलम्पिक सहभागिता हो ।


प्रतिक्रिया