माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा ३ जनाको शव भेटियो

आश्विन १४, २०८१ | दोलखा

दोलखाको माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहमा शनिबार पहिरोले पुरिएर बेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।

हिजो साँझ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले पहिरोले पुरिएको विद्युत गृह नजिकै खोजी गर्दा ३ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

एक जना अझै बेपत्ता छन् । पहिरोमा परि नेपाली सेनाको गरुड गण दोलखामा कार्यरत बैतडीका शंकर चन्द, तामाकोसी जलविद्युत केन्द्रमा कार्यरत नवलपरासीको प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको बिगु गाउँपालिका–१ स्यालुका ३० वर्षीय जयराम तामाङको शव फेला परेको प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले बताउनुभयो । 

पहिरोमा परि बेपत्ता भएका नेपाली सेनाका नरेन्द्रबहादुर पालको अवस्था भने अज्ञात रहेको डीएसपी खड्काको भनाई छ । 

उनको खोजी आज बिहानैबाट सुरु गरिएको प्रहरीले जनाएको छ । पहिराले विद्युत सञ्चालन गृह क्षतिग्रस्त बनाएपछि ४ सय ५४ मेगावाटको तामाकोसी विद्युत केन्द्रको उत्पादन ठप्प छ ।


प्रतिक्रिया