खेलाडी अक्सनमा लुम्बिनी लायन्सद्वारा सर्वाधिक लगानी

आश्विन २०, २०८१

आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिग क्रिकेटका लागि भएको खेलाडी अक्सनमा लुम्बिनी लायन्सले सर्वाधिक खर्च गरेको छ । काठमाडौंमा आज भएको अक्सन कार्यक्रममा लुम्बिनीले ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको हो । यस्तै पोखरा एभेन्जर्सले ८० लाख ५० हजार तथा जनकपुर बोल्ट्सले ७९ लाख २५ हजार रुपैयाँ खर्च गर्दा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले समान ७४–७४ लाख रुपैयाँ खर्च गरेका छन् । 

काठमाडौं गुर्खाजले ७० लाख ५० हजार, विराटनगर किङ्गसले ६६ लाख ५० हजार र चितवन राइनोजले सबैभन्दा कम ६३ लाख रुपैयाँ खर्च गरेको छ । अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले प्रत्येक टोलीलाई ९० लाख रुपैयाँ अधिकतम सीमा तोकेको थियो । आज भएको अक्सन अनुसार सबै टोलीले क्यानले निर्धारण गरेको ए ग्रेडबाट ३ जना बी ग्रेडबाट ४ जना तथा सी ग्रेडबाट ३ जना गरि १० जना खेलाडी खरिद गरेका छन् । यसअघि क्यानले लिगमा सहभागी हुने ८ टोलीलाई मार्कि खेलाडी समेत प्रदान गरिसकेको छ । लिग आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । 


प्रतिक्रिया