नेपाल र स्कटल्यान्डबीचको खेल रद्द
कार्तिक २०, २०८१ | काठमाडौं
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । अमेरिकाको डालास्थित मैदानमा गएराति भएको खेल वर्षासँगै आँधीहुरी र चट्याङको सम्भावना बढेपछि रद्द गरिएको हो ।
खेल रद्द भएसँगै दुबै टिमले १–१ अंक बाढेका छन् । खेल नहुँदा प्रतियोगितामा कमजोर सावित भएको नेपाललाई एक अंक मात्र प्राप्त भएको हो । डालासमा स्कटल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।
वर्षाले खेल रोकिनु अगाडि नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको स्थितिमा थियो । त्यसपछि खेल पुनः सुरु हुन नसक्दा दुवै टिमले अंक बाढेका हुन् ।
क्यानडामा ओमान र नेपाल सम्मिलित सिरिजमा जितविहीन रहँदै अंक जोडेको नेपालले अमेरिकामा खेलिएको लिग–टू को त्रिकोणात्मक सिरिजमा पनि खासै प्रदर्शन गर्न सकेन । सिरिजमा अमेरिकासँगको दुबै खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले एक खेलमा स्कटल्यान्डलाई हराएको थियो । सिरिजको अन्तिम खेल भने रद्द हुन पुग्यो । अमेरिका सिरिजमा नेपालले ३ अंक जोड्यो । नेपाल १२ खेलबाट ८ अंक मात्र जोडेर लिग–टू तालिकाको सातौं स्थानमा रह्यो ।
स्कटल्यान्ड भने ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिग–टूको शीर्ष स्थानमा रहेको अमेरिकाको १२ खेलबाट १६ अंक भएको छ । क्यानडा पनि समान १६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।