पोखरामा पर्वतीय क्रसकन्ट्री दौडको तेस्रो संस्करण आज सुरु हुँदै

कार्तिक २४, २०८१ | पोखरा

पर्यटकीय शहर पोखरामा आजदेखि तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । 

आयोजक संस्थामध्ये हिमालयन टुरिजम फोरमका अनुसार प्रतियोगितामा १ हजार २ सय खेलाडी सहभागी हुनेछन् । यसमा चार प्रकारका दौड हुने छन् । प्रतियोगिताको उद्घाटन आज बिहान साढे ७ बजे हुने आयोजक संस्थामध्ये हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिनुभयो । 

तीन दिनसम्म चल्ने प्रतियोगितामा ५० किलोमिटरको दौड हुनेछ । टिम समूह दौडमा खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्छ । १७ नेपाली र ४ वटा चिनियाँ गरी २१ वटा टिम दर्ता भएका छन् । जसमा ६३ जना खेलाडी रहेका छन् । दौडका क्रममा खेलाडीले कुल २ हजार २ सय ५८ मिटर उचाइ पार गर्नेछन् ।

यस दौड बाराही घाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुसे खोला, रामदी, मट्टीखान, देउराली, फेदिखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुविन्डे, उल्लेरी, थाप्ले टाइगर हिल, काब्रे, पुम्दी–भुम्दी, तालपारी, द बिच रेस्टुरेन्ट, हुर्दै फेरि बाराही घाट आएर समापन हुनेछ ।

च्यालेन्ज इन्डिभिजुअल दौड ५० किलोमिटरको ट्रेलमा २ हजार ३ सय ८८ मिटरको कुल उचाइ पार गर्नुपर्ने हुन्छ । यस दौडमा एक सय जना नेपाली र ५२ जना चिनियाँ खेलाडीले सहभागिता जनाउने छन् । बाराही घाटबाट सुरु भएर राष्ट्र बैंक चौक, ड्याम साइड, छोरेपाटन, फुने खोला, रामदी, मट्टीखान, देउरात्री, फेदिखोला, दमगडे स्कूल, साल्मेडााडा, रामकोट, कुविन्डे, उल्लेरी, थाप्ले टाइगर हिल, काब्रे, पुम्दि–भुम्दी, पिस पगोडा, ड्याम साइड, राष्ट्र बैंक चोक, हुँदै फेरि बाराही घाट आएर समापन हुनेछ ।

विद्यार्थीका लागि राखिएको दौडको दूरी ५ किलोमिटरको हुनेछ । सो दौडमा ५ सय जनाले सहभागिता जनाउने भएका छन् । यस दौड बाराही घाटबाट सुरु भएर गौरिघाट, सहिदचोक, राष्ट्र बैंक चोक, हुादै ड्याम साइडबाट फेरि राष्ट्र बैंक चोक, सहिद चोक, गौरीघाट हुँदै अन्तमा बाराही घाट आएर समापन हुनेछ ।

हृयाप्पी रन दौड प्रतियोगितालाई थप आकर्षक र रमणीय बनाउन तयार गरिएको यस दौड २ किलोमिटरको हुनेछ । हृयाप्पी रन दौडमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अन्य अतिथिको समेत सहभागीता रहनेछ । यस प्रतियोगितामा ५ सय ७९ खेलाडीले सहभागिता जनाउने भएका छन् । 

बाराही घाटबाट सुरु भएर सेन्टरपोइन्ट, हल्लन चोक, खहरे चोक, डिहिको पाटन, हल्लन चोक, सेन्टर पोइन्ट हुर्दै फेरि बाराही घाट आएर समापन हुने आयोजक संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले बताए । उनले प्रतियोगितामा ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएका छन् । विजेता खेलाडीका लागि १९ लाख ३८ हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो समूहमा प्रथम हुनेका लागि ४ लाख ५८ हजार ४ सय रुपैयाँ पुरस्कार तोकिएको छ । यस्तै, दोस्रो हुनेको लागि ३ लाख ४३ हजार ८ सय र तेस्रो हुनेको लागि २ लाख २९ हजार २ सय रुपैयाँ पुरस्कार तोकिएको छ । 

यसैगरी च्यालेन्स समूहमा प्रथमका लागि १ लाख ५२ हजार ८ सय, दोस्रोका लागि १ लाख १४ हजार ६ सय रुपैयाँ र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । विद्यार्थी दौडमा प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैयाँ प्रदान गरिनेछ । ६४ जना चिनियाँ धावक रहेको यस प्रतियोगितामा यसअघि आयोजना गरिएको खेलमा विजेता भएका खेलाडी सहभागी भएका छन् । 


प्रतिक्रिया