जनज्योतीलाई छैटौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपापि

मंसिर ३०, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माध्यमिक विद्यालयले जितेको छ । जनज्योतिले ११ स्वर्ण १० रजत र ५ कास्य पदक सहित यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड जितेको हो । 

शनिबार साँझ भएको फाइनल खेलमा पशुपति माविले ११ स्वर्ण ३ रजत र ७ कास्य सहित दोस्रो भयो । होराइजन जीबीएस ५ स्वर्ण ३ रजत र १ कास्य सहित तेस्रो हुन सफल भएको हो । विजेता विद्यालय र विद्यार्थीले मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरे । 

तिलोत्तमा नगर भित्रका सामुदायिक एवं संस्थागत गरी ४४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डी विधामा ५४ खेल सम्पन्न भएका थिए । 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात विद्यालय स्तरको खेलबाट हुने बताउनुभयो । 

खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको उहाँको भनाई छ । खेलको विकासका लागि नगरपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको भन्दै उहाँले तिलोत्तमा नगरलाई खेलकुदको हव बनाइने बताउनुभयो । 

यस वर्ष को जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिलोत्तमाले सञ्चालन गर्न पाएकाले अहिलेको खेल सो प्रतियोगिताका लागि तयारीका रुपमा लिइएको नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले बताउनुभयो । 

यस वर्ष भिजिट लुम्बिनी, स्टे इन तिलोत्तमा भन्ने नाराका साथ जिल्लास्तरीय खेल मार्फत आन्तरिक पर्यटकलाई तिलोत्तमा चिनाउन प्रयास गरिने उहाँको भनाई छ । 


प्रतिक्रिया