मार्टिनेजको निर्णायक गोलमा म्यान युनाइटेड विजयी

माघ १४, २०८१ | काठमाडौं

लिसान्ड्रो मार्टिनेजको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई पराजित गरेको छ । क्रेभन कोटेज स्टेडियममा गएराति भएको खेलमा म्यान युनाइटेडले घरेलु टोली फुलहमलाई १–० गोलले हराएको हो । 

यो जितसँगै म्यान युनाइटेडले महत्वपूर्ण तीन अंक जोडेको छ । खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ७८ औं मिनेटमा एक मात्र गोल सम्भव भएको हो । मार्टिनेजले प्रहार गरेको बल डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

यस जितसँगै युनाइटेड अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ । उसको २३ खेलबाट २९ अंक भएको छ । फुलहम भने समान २३ खेलबाट ३३ अंकका साथ तालिकाको दशौं स्थानमा छ ।

यस्तै, लिगको अन्य खेलमा लेस्टर सिटीले टोटनहमलाई २–१ गोलले पराजित गरेको छ । टोटनहमको यो लगातार चौंथो हार हो । यो जितपछि लेस्टर सिटी भने रेलिगेसन जोनबाट बाहिर निस्किएको छ । 

यो नतिजापछि टोटनहम २४ अंकका साथ तालिकाको १५ औं स्थानमा रहेको छ । अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको छ । यस्तै, एस्टन भिल्ला र वेस्ट ह्यामले १–१ गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया