टाइगर कप भलिबलमा एपीएफसँग न्यू डायमन्ड सोझो सेटमा पराजित
माघ १४, २०८१ | पोखरा
टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल प्रतियोगितामा महिलातर्फ विभागीय टोली एपीएफ क्लबले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा बिहान भएको खेलमा एपीएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । लिग चरणको खेलमा एपीएफले न्यू डायमन्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा हराएको हो ।
एपीएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेस्ट स्पाइकर न्यू डायमन्डकी सलिना बुढामगर बनिन् । पहिलो चरणको खेलबाट विजेता समूहमा एपीएफ, न्यू डायमन्ड सहित आयोजक टोली छन् ।
अर्को खेलमा नेपाल पुलिस क्लबले थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा दुई विदेशीसहित महिला र पुरुषतर्फ ६–६ टोली सहभागी छन् । यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम प्रतिस्पर्धा हुनेछन् । पुरुषतर्फ नेपालका हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागी छन् ।
महिलातर्फ एपीएफ क्लब, न्यू डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी, पुलिस क्लब र टाइगर ग्रुप अफ पोखराले भाग लिएका छन् । यसपल्ट आयोजकले छुट्टै महिला टिम सहभागी गराएको हो ।
पुरुष र महिला विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।