झापा कपको उपाधिका लागि चर्च ब्वाइज र एनआरटी भिड्दै
पुस ८, २०८१ | झापा
झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि ललितपुरको चर्च ब्वाइज युनाइटेडले न्यु रोड टिम एनआरटीको सामना गर्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइजले सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । एनआरटीले भने इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
फाइनल खेलको पूर्वसन्ध्यानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो टिम सन्तुलित र बलियो रहेको बताउँदै जित निश्चित रहेको बताए । चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले पनि उपाधि हात पार्ने दाबी गरेका छन् ।
चर्च ब्वाइजमा अनन्त तामाङ मात्र रहेका छन् भने अञ्जन विष्ट हाल एनआरटीमा आबद्ध छन् । झापा कपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने आयोजक झापा–११ फुटबल क्लबले जनाएको छ । नेपाल र भारतका १० टिम सहभागी यस प्रतियोगितामा उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।