मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको फाइनलमा

पुस १३, २०८१ | पाँथचर

काठमाडौंको मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पाँचथरको फिदिम बजारस्थित फिदिम माविको मैदानमा भएको दोस्रो सेमिफाइनलमा न्यू रोड टिम एनआरटीलाई पराजित गर्दै मच्छिन्द्रले उपाधि यात्रा तय गरेको हो । 

अब मच्छिन्द्रले ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधिका लागि पर्सि सोमबार चर्च ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

चर्च ब्वाइजलले शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । मच्छिन्द्रको जितमा दयानन्द इङ्लाबाङले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

इङ्लाबाङले खेलको १० औं मिनेटमा गोल गरेका थिए । एनआरटीले गोलको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । आजको खेलमा मच्छिन्द्रका देबेन्द्र तामाङ प्लेयर अफ दी म्याच घोषित भएर १० हजार रुपैयाँ प्राप्त गरे । 

पुष ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । फाल्गुनन्द गोल्डकपको यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।


प्रतिक्रिया