त्रिवेणी कपको उपाधिका लागि एपीएफले बीवाईसीको सामना गर्ने

लमजुङमा जारी त्रिवेणी कपको ३२ औं संस्करण अन्तर्गत शुक्रबार एपीएफ (पहेंलो) विरुद्धको खेलमा बल अगाडि बढाउँदै आयोजक त्रिवेणी युवा क्लब (सेतो) का खेलाडी । तस्बिरः आश गुरु-रेडियो कान्तिपुर । 

पुस २०, २०८१ | लमजुङ

लमजुङमा जारी ३२ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ । त्रिवेणी कप फुटबलको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लमजुङको बुद्ध युवा क्लब (बीवाईसी) को सामना गर्नेछ । 

बेंसीसहरस्थित त्रिवेणी रंगशालामा हुने उपाधि भिडन्त दिउँसो एक बजेपछि सुरु हुनेछ । पहिलो पटक त्रिवेणी कपमा सहभागिता जनाएको एपीएफ च्याम्पियन बन्ने लक्ष्यमा छ । बीवाईसी पनि विभागीय टोलीको चुनौती पन्छ्याउँदै उपाधि रक्षा गर्ने योजनामा हुनेछ । बीवाईसी ३ पटकको त्रिवेणी कप फुटबलको च्याम्पियन टोली हो ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले आयोजक त्रिवेणी युवा क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । केही महिनाअघि नवलपुरमा सम्पन्न सातौं राइनो गोल्ड कप उचालेको एपीएफ त्रिवेणी कपको ३२ औं संस्करणको खेलमा फाइनल प्रवेश गरेको हो । 

आयोजकविरुद्ध एपीएफका कप्तान हरि कार्कीले खेलको २० औं मिनेटमा गोल गरेका थिए । त्रिवेणीका सुनिल खड्काले २२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ४३ औं मिनेटमा एपीएफका प्रदीप लामाले गरेको गोल निर्णायक बन्यो । प्रदीपको गोल संख्या ६ पुगेको छ । उनी म्याद अफ द म्याच भए ।

हिजो नै भएको दोस्रो सेमिफाइनलमा बीवाईसीले काठमाडौंको टोखा भगवती क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निकै रोमाञ्चक बनेको दोस्रो खेलमा बुद्ध युवा क्लबले टोखा भगवतीलाई सडनडेथमा हरायो । 

निर्धारित अवधिभर कुनै गोल हुन सकेन । टाइब्रेकरमा ४–४ गोल भएपछि सडेन डेथमा बुद्ध युवाले सफलता पायो । सडेन डेथमा टोखाका समीर तामाङको प्रहार बीवाईसीका गोलरक्षक कृशल मोक्तानले रोकेका थिए । बीवाईसीका राजेन्द्र गैरेले निर्णायक गोल गरे । बीवाईसका गोलरक्षक कृशल मोक्तान म्यान अफ द म्याच भए ।

प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सेमिफाइनलमा पराजित २ टिमलाई २÷२ लाख रुपैयाँ प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यही पुस १२ गतेदेखि सुरु भएको त्रिवेणी कप फुटबल प्रतियोगितामा १६ टिमले सहभागीता जनाएका थिए ।


प्रतिक्रिया