उपाधिका लागि पुलिसले त्रिभुवन आर्मी क्लबको सामना गर्दै

पुस २५, २०८१ | काठमाडौं

मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । 

बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित मैदानमा हुने उपाधि भिडन्त दिउँसो एक बजे हुनेछ । हिजो दोस्रो सेमिफाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएसँगै आर्मी फाइनल पुगेको हो । आर्मीले मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो ।

मंगलबारको पहिलो सेमिफाइनलमा पुलिस र बुधबारको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै दुई विभागीय टिमले फाइनलमा एकअर्कासँग भेट पक्का गरेका हुन् । 

पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबललाई ३–१ को सेटमा हराउँदै फाइनलमा पुगेको थियो । पहिलो सेमिफाइनलमा पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो । 

प्रतियोगितामा तेस्रो स्थानका लागि गुजरात स्टेट भलिबल र मणिमुकुन्दबीच आज खेल हुनेछ । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।


प्रतिक्रिया