वुमेन्स फोर नेसन्स कपको खेल तालिका सार्वजनिक
माघ १, २०८१ | काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा आयोजना हुने वुमेन्स फोर नेसन्स कपको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी फागुन ५ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगतामा नेपाल, कीर्गिस्तानसहित लेबनान र म्यानमार सहभागी हुनेछन् । एन्फाले जारी गरेको तालिका अनुसार घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ ।
खेल तालिका अनुसार फागुन ५ को पहिलो खेलमा म्यानमारले लेवनानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने त्यस दिनको खेलमा नेपाल कीर्गिस्तानसँग भिड्ने छ । यस्तै, फागुन ८ मा कीर्गिस्तान र म्यानमार तथा नेपाल र लेवनानबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन ११ को खेलमा कीर्गिस्तानले लेवनान तथा नेपालले म्यानमारको सामना गर्नेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । उपाधिका लागि फागुन १४ गते प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता एएफसी वुमेन्स एसिया कप २०२६ को छनोटको तयारीका रुपमा रहेको एन्फाले जनाएको छ । नेपाली महिला टिमले गत कात्तिकमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
नेपाली महिला टोली हाल मुख्य प्रशिक्षकविहीन छ । गत कात्तिकमा साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग पराजित भएपछि तत्कालीन मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका थिए ।