जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा आर्मी र पुलिस भिड्दै
माघ १, २०८१
जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आजबाट सुरु हुँदैछ । वीरगञ्जस्थित नारायणी रंगशालामा हुने दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीचको उपाधि भिडन्त अहिले केहीबेरमा सुरु हुनेछ ।
चार टोली सहभागी प्रतियोगिताको लिग चरणका सबै खेल दुईदिवसीय संरचनामा भएका थिए । तर, फाइनल भने तीन दिवसीय हुनेछ । यो प्रतियोगिता नेपालमा पहिलो पटक भएको हो ।
प्रतियोगितामा राउन्ड रोबिनको खेल जनकपुर र वीरगञ्जमा खेलाइएको थियो । प्रतियोगितामा सहभागी चार वटा टोलीले ३–३ खेल खेलेका थिए । आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा ६६ अंकका साथ शीर्ष स्थानमा रहेको थियो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी ५५ अंकसहित दोस्रो स्थानमा रह्यो ।
पुलिसले खेलेका तीन मध्ये दुई खेलमा जित हात पारेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो । तीन खेलमा एउटामा मात्र आर्मी विजयी भएको थियो भने दुई वटा खेल बराबरीमा टुंगिएको थियो । बागमती र मधेश प्रदेशले खेलेका तीन खेलमध्ये एउटामा पनि जित हात पार्न सकेनन् ।
पुलिसको ब्याटिङ बलियो पक्ष देखिएको छ । प्रतियोगितामा स्पिनर हाबी रहेका छन् । पुलिसका ललित राजवंशी र कुशल भुर्तेलले शानदार बलिङ गरिरहेका छन् । आर्मीका शाहब आलमसँगै बसिर अहमदले राम्रो स्पिन बलिङको प्रदर्शन गर्दै आएका छन् ।
पुस २१ गतेदेखि सुरु भएको प्रतियोगितामा गत वर्ष माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।