नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित

माघ ५, २०८१

नेपाल आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीस्थित मैदानमा भएको खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेश १३ ओभर दुई बलमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक÷एक विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ्मा आएको नेपालले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाएको थियो । नेपालका लागि साना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रनको योगदान गरिन् । 

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन् भने अलिशा यादवले चार रन मात्र बनाइन् । बंगलादेशका लागि जन्नातुल मउवाले २ तथा फहोमिदा छोया, मनिसा सोबा र निशिता निशीले समान १÷१ विकेट हात पारिन् ।

नेपालका पाँच जना खेलाडी रन आउट भए । नेपालले विश्वकपको आफ्नो दोस्रो खेलमा पर्सि सोमबार स्कटल्याण्डसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । 

समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् । यस्तै, आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २२ रनले हरायो ।


प्रतिक्रिया