खो खो विश्वकपको उपाधिका लागि नेपालले भारतको सामना गर्ने

माघ ६, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय महिला तथा पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज आयोजक भारतको सामना गर्दैछ । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । 

नेपाललाई घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागको बदला विश्वकपमा भारतसँग उसकै भूमिमा लिने अवसर पनि छ । राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा हिजो भएको महिलातर्फको पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । 

सरस्वती कडायतको कप्तानीमा रहेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर तथा दीपा विक बेस्ट डिफेन्डर घोषित भईन् । 

महिलातर्फ समूह चरणमा नेपालले जर्मनीलाई ७४–३४, भुटानलाई ८३–२४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८३–२४ स्कोरले पराति गरेको थियो । समूह ‘सी’ को विजेता बनेको नेपालले क्वाटरफाइनलमा इरानमाथि १०३–८ को जित हात पारेको थियो । 

हिजो नै भएको दोस्रो सेमिफाइनलमा आयोजक भारतले दक्षिण अफ्रिकालाई ६६–१६ स्कोरले हराएर नेपालसँग फाइनल प्रतिस्पर्धा पक्का गरेको हो । फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय पुरुष टिमले पनि खो खो विश्वकपको उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । हेमराज पनेरुको कप्तानीमा रहेको नेपाली पुरुष टोलीले सेमिफाइनलमा इरानलाई ७२–२० स्कोरमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । 

पुरुषतर्फ समूह चरणमा भारतसँग ४२–३७ ले पराजित नेपालले पेरुलाई ८०–३४, ब्राजिललाई १३४–८ र भुटानलाई ९८–८ ले हराएको थियो । समूह ‘ए’ मा उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो । 

भारतले पुरुषतर्फ पनि दक्षिण अफ्रिकालाई नै दोस्रो सेमिफाइनलमा ६२–४२ ले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । पुरुषतर्फको उपाधि भिडन्त राति पौने ८ बजे सुरु हुनेछ ।


प्रतिक्रिया