प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटः त्रिभुवन आर्मी र कोशी प्रदेशको विजयी सुरुवात
माघ ६, २०८१ | काठमाडौं
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको समूह बी को दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई १० विकेटले हरायो ।
मधेशले दिएको २६ रनको सामान्य लक्ष्य आर्मीले २ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाई पूरा ग¥यो । ओपनर सम्झना खड्का २२ र अन्जली विश्वकर्मा ४ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले १५ ओभर २ बलमा अलआउट हुँदै २५ रन मात्र जोडेको थियो । भुमी सिंहले सर्वाधिक १० रन बनाइन् । मधेशका ७ ब्याटरले खाता नै खोल्न सकेनन् । आर्मीका लागि आश्मा पुलामी मगरले १.२ ओभरमा ४ रन दिएर ३ विकेट लिइन् ।
यसअघि आजै भएको समूह बी को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले हराउँदै विजयी सुरुवात गरेको छ । १३ ओभरमा झारिएको खेलमा कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमती ५ बल अगावै ५३ रनमा अलआउट भयो। ओपनर सबिका यादवले सर्वाधिक २० रन बनाइन् ।
त्यसअघि खराब मौसमका कारण ढिला सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको कोशीले १३ ओभरमा ७ विकेट गुमाएर ६३ रन बनाएको थियो । जारी प्रतियोगितामा समूह ए बाट नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश सुपर फोरमा प्रवेश गरिसकेका छन् ।