प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटः. बागमती प्रदेशको पहिलो जित
माघ ७, २०८१
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको हो ।
बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले ६७ रन मात्र बनाउन सक्यो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका लागि सोनु खड्का, मनिसा उपाध्याय र कञ्चन श्रेष्ठले समान २–२ विकेट लिए । जितसँगै बागमती २ खेलबाट २ अङ्कसहित समूह बीको तेस्रो स्थानमा उक्लिएको छ ।
आज भएको अर्को खेलमा मधेश प्रदेशलाई कोशी प्रदेशले ४७ रनले पराजित गरेको छ । कोशी प्रदेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश पुरा ओभर खेल्दै ९ विकेट गुमाएर ५९ रनमा समेटिएको थियो । दुई खेल खेलेको कोशी प्रदेश ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो खेल समेत गुमाएको मधेश प्रदेश चौथो स्थानमा पुगेको छ ।